logo

नेपालमा चिनियाँ इभीको क्रेज देखेर भारतीय व्यवसायी सशंकित, अर्थमन्त्री भेटेर गरे बजारबारे छलफल

    725   पटक पढिएको


१६ भदौ/अर्थ र व्यापार – नेपालमा चिनियाँ इभीको क्रेज देखेर भारतीय व्यवसायी सशंकित भएका छन । काठमाडौको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो सो मा चिनियाँ विद्युतीय गाडीको दबदबा छ । नाडामा मात्र नभएर कुनै बेला भारतीय गाडीको वर्चस्व रहने काठमाडौंको सडकमा अहिले चिनियाँ ब्राण्डका गाडीको संख्या बढेको प्रष्टै ठम्याउन सकिने अवस्था छ।
यस्तो अवस्थामा भारतीय अटो व्यवसायीहरु चिनियाँ इभीको आकर्षण र गुम्दै गएको नेपाली बजारलाई लिएर सशंकित भएका छन्। चीनले कूटनीतिको भरपूर प्रयोग गरेर इभीको बजारीकरण नेपालमा गरिहँदा नाडा अटो सोलाई लक्षित गरेर यसपटक भारतीय व्यापारीको जम्बो टोली काठमाडौं आइपुगेको छ । उनीहरुको उद्देश्य नेपाली बजारमा आफ्नो प्रभुत्व कायम राख्न लबिङ गर्नु नै थियो ।
नाडा अटो शो चलिरहँदा सवारी उत्पादक भारतीय कम्पनीका प्रतिनिधिले एकै दिन नेपालका तीनजना मन्त्रीसँग छलफल गर्न भ्याए। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निम्त्रणामा काठमाडौं आएका भारतीय प्रतिनिधिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गरेका हुन्।
सोसाइटी अफ इन्डियन अटोमोबाइल्स म्यानुफ्याक्चर्स (सायम) का सह–अध्यक्ष एस पाल सचारको नेतृत्वमा आएको टोलीले भेटका क्रममा नेपालमा भारतीय गाडीको अवस्था र बढ्दै गएको चिनियाँ गाडीको वर्चस्व नै प्रमुख एजेन्डा बनाएको बुझिएको छ।
भारतीय टोलीमा सायमका उपकार्यकारी निर्देशकका साथै टाटा, महिन्द्रा, निसान, रेनो, हुन्डाई, सुजुकी, अशोक लेल्यान्ड, इसुजु, बजाज, टीभीएस, एथरका प्रतिनिधिसमेत थिए। स्रोतका अनुसार नाडा अटो शोमा आएका भारतीय व्यवसायी प्रतिनिधि नेपालमा बढ्दो इभी क्रेज देखेर ‘सरप्राइज’ नै भएका थिए।
‘उनीहरुले नेपालको अटो बजारको प्याटर्न नै परिवर्तन भएको नाडा अटो शोबाट राम्रोसँग देखे,’ एक व्यवसायीले भने, ‘इभीप्रति ग्राहकको मोह देखेर उनीहरु सरप्राइज नै भएका छन्। त्यसैले उनीहरुले मन्त्रीहरुसँग पालैपालो भेटे।’
चिनियाँ इभीको दबदबा भएको नाडा अटो शोमा भारतीय गाडी उत्पादक कम्पनीका प्रतिनिधिको टोलीले नेपाल आएर मन्त्रीहरुसँग भेट गर्नुलाई अहिले अर्थपूर्ण रुपमा हेरिएको छ।
भारतमा उत्पादन भएका गाडीको बजार हिस्सा नेपालमा पछिल्लो समय खुम्चिँदै गइरहेको छ। भारतीय अटो व्यवसायीले नेपाललाई आफ्नो ‘डोमेस्टिक मार्केट’को रुपमा हेर्ने गरेकामा अहिले चिनियाँ इभीले बजार लिइसकेको छ। आफ्नो बजार चिनियाँ कम्पनीले खोस्दा भारतीय गाडी उत्पादक कम्पनी चिन्तित देखिएका छन्।
एक अटो व्यवसायीका अनुसार भारतीय टोलीले मन्त्रीहरुसँगको भेटमा नेपालको अटो सेक्टरमा आफूहरुले गर्न सक्ने सहयोग बारे चासो राखेको बताए।
‘उहाँहरुले नेपालको अटो व्यवसायलाई राम्रो बनाउन के गर्न सकिन्छ भनेर छलफल गर्नु भयो। भारत सरकारसँग मिलेर सायमले गर्न सक्ने सहयोगबारेमा पनि कुरा भएको छ,’ ती व्यवसायीले भने, ‘मन्त्रीहरुबाट उहाँहरुले राम्रो रेस्पोन्स पाउनुभएको छ।’
सायमले मन्त्री र व्यवसायीसँग भेटका क्रमा ‘भेहिकल फिटनेस सेन्टर’लाई अपग्रेड गर्न सहयोग गर्ने आश्वासन पनि दिएको छ। ‘भेहिकल फिटनेस सेन्टरको क्षमता विकास गर्न प्राविधिक रुपमा सहयोग गर्ने कुराको वचन दिइएको छ,’ ती व्यवसायीले भने, ‘अहिले जति पनि गाडी नेपाल आउने गरेका छन्, तिनलाई प्रोटोकल बनाएर टेष्टिङ गर्न सकिने व्यवस्था मिलाउने भन्ने कुरा भएको छ।’
भारतीय अटो व्यवसायी र मन्त्रीहरुबीचको भेटबारे जानकार व्यवसायीले भेहिकल रजिस्ट्रेसनका विषयमा पनि कुरा भएको छ। उनका अनुसार गाडीमा भएको भिन नम्बर (भेहिकल आइडेन्टिफिकेसन नम्बर) लाई कसरी सिस्टममा ल्याउने भन्नेबारे छलफल भएको छ। नेपालमा कति गाडी चलिरहेका छन् भन्ने बारेमा थाहा पाउन भारतीय अधिकारीले यस्तो सिस्टमको कुरा उठाएका हुन्। भारतीय कम्पनीले गाडी उत्पादन गर्ने आफ्नो क्षमता देखाउन चाहेका छन्।
‘गाडी उत्पादनको क्षमता देखाउन इन्डष्ट्री भिजिट गराउने विषयमा पनि छलफल भएको छ,’ ती व्यवसायीले भने, ‘यी सबै कुराको मुख्य उद्देश्य नेपाली बजारमा आफ्नो हिस्सा बढाउन चाहनु हो। चिनियाँ इभीले बजार लिएको पाएपछि उनीहरु केही आत्तिएको देखिएको छ।’
भारतीय व्यवसायीले नेपाल बसाइका क्रममा अटो क्षेत्रमा भारतले अपनाएका नीतिबारे पनि मन्त्रीहरुलाई अवगत गराएका थिए। सायमका प्रतिनिधिले नेपालमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन एसेम्ब्ल हुन थालेकाले अब ‘लोकलाइज्ड’ गर्ने कुरामा ध्यान दिन मन्त्रीहरुलाई सुझाव दिएको ती व्यवसायीले जानकारी दिए।
‘सामान्यतया सबै देशहरुमा सुरुमा एसेम्ब्ली, त्यसपछि विस्तारै पार्ट्सहरु लोकलाइजेसन गर्दै जाने र त्यसले एन्सीलरी उद्योगमा लगानी बढ्ने हुन्छ। नेपालमा पनि सवारीसाधन एसेम्बल गर्दा १० प्रतिशत पार्ट्स लोकल प्रयोग गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि सरकारले फेभरेबल पोलिसी बनाउन जरुरी भइसकेको उहाँहरुको भनाइ थियो,’ ती व्यवसायीले भने।
नेपाली अटो व्यवसायीहरुका अनुसार नेपाल आएका भारतीय अटो उद्योगका प्रतिनिधिहरु मन्त्रीहरुसँगको छलफल पछि आफ्नो बजारका लागि केही हुने आश्वास लिएर फर्किएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।